जंगल र जमिन संरक्षण

जंगल र जमिन नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । हरियो वन नेपालको धन भन्ने नारा र नेपाललाई कृषि प्रधान मुलुक भन्नुले पनि त्यही पुष्टि गरेको छ । तर, पछिल्लो समय जंगल विनाश हुँदै जानु र जमिन संरक्षण हुन नसक्दा उत्पादनकत्व घटेको मात्र छैन । वर्षेनी बाढीपहिरोबाट मानवीय र आर्थिक क्षति भोग्नु परेको छ । यही यथार्थ र पीडाबाट देशका केही स्थानका किसान भने जंगल र जमिन संरक्षणबाट सुरक्षित मात्र महशुस गरिरहेका छैनन्, आर्थिक लाभ पनि लिन सफल भएका छन् । अझ यसो गरेवापत उनीहरुले स्वावासी र पुरस्कारसमेत पाएका छन् ।
हरेक वर्ष नेपालमा बाढी र पहिरोले ठुलो जनधनको क्षति हुने गरेको छ । हजारौ हेक्टर खेतीयोग्य जमिन नदी कटानमा परेको छ भने कतिपय ठाउँमा बाढी पहिरोले विनाश लिला मच्चाएको छ । वर्षा सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरोबाट धेरैले ज्यान गुमाएका छन् । यही वर्ष मात्र पनि दार्जुलालगायतका जिल्लामा बाढीले ठुलो आतंक मच्चायो । यो सबै देखे, भोगेका र सुनेका निलकण्ठ – ९ धादिङका किसान भिमरमण नेपाल भूसंरक्षण्मा लागेका छन् । उनीहरुले सानै आकारमा भए पनि गाउँमा भू–संरक्षण अभियान चलाएर जंगल र जमिन संरक्षा गरेपनि बाढीपहिरोको डर त टरेको छ नै आम्दानीको स्रोत पनि फेला परेका छन् । तीन किसानलाई राजधानीमा भू तथा जल संरक्षण समाजले शुक्रबार पुरस्कृत र सम्मानित गरेको छ ।
भू तथा जल संरक्षण समाजको चौधौ स्थापना दिवसका अवसरमा पुरस्कृत र सम्मानित भएपछि नेपालले गाउँमा जंगल र जमिन संरक्षण सुरु गरेपछि बाढी पहिरोको समस्या हट्नुका साथै स्थानीयले आर्थिक लाभ पनि लिएको बताए ।
तर, धादिङका नेपालको समूहले सुरु गरेको संरक्षण अभियान त्यसै यहाँसम्म भने आइपुगेको होइन । यसमा उनीसहित धेरैले योगदान पुरयाएका छन् । भू तथा जलाधार संरक्षण विभाग, जिल्ला भू संरक्षण कार्यालयसहितका संघसंस्थाले पनि सघाएको उनले बताए । विगतमा आफूले गाउँमा जंगल र जमिन संरक्षणको कुरा गर्दा पागलको संज्ञासमेत पाएको बताए ।
कार्यक्रममा पुरस्कार तथा सम्मान ग्रहण गर्न आएका गोदार–८ धनुषाका मालखोला चारनाथ संरक्षण समूहका प्रतिनिधिले पनि विगतमा जंगल र जमिन संरक्षणमा ध्यान नदिँदा गाउँको उत्पादनले तीन महिना खान नपुग्ने अवस्था भए पनि संरक्षणमा ध्यान दिएपछि बेच्न सक्ने अवस्था सिर्जना भएको बताए ।
समाजको १४औं वार्षिकोत्सवमा सहभागी पूर्वमन्त्री एवं संस्थाका सल्लाहकार केशवमान शाक्य, पूर्व सचिव केशवमान स्थापित, भू तथा जलाधार संरक्षण विभागमा महानिर्देशक भरतप्रसाद पुडासैनीलगायतले जमिन र जंगल मानव जीवनको अभिन्न अंग रहेकाले त्यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए । उनीहरुले यसप्रकारको सम्मान र पुरस्कारले कृषकहरुलाई प्रोत्साहित गर्ने भएकाले यसलाई विस्तार गर्नुपर्ने बताए ।
प्राकृतिक स्रोतमा स्नातकोत्तर उपाधि हासिल गरेका विज्ञहरुको भू तथा जल संरक्षण समाजका अध्यक्ष गोपाल हरि शर्माले जंगल, जमिन र पानी संरक्षण गर्नु भनेको मानव जीवन संरक्षण गर्नुसरह हुने बताए । स्थानीय तहमा सक्रिय कृषक समूहहरुलाई यसरी सम्मान गरेर देशभरका किसानलाई संरक्षण अभियानमा प्रोत्साहित गर्न पुरस्कार प्रदान गरिएको शर्माले बताउनुभयो ।समाजले सञ्चालन गरेको कार्यक्रमबाट बाढीपहिरो रोक्न सहयोग पुग्नुका साथै किसानहरुले पनि लाभ लिएको शर्माको भनाइ छ ।
निश्चय पनि जल, जंगल र जमिन मानव जीवनको आधारविन्दु हो । यो तीन सम्पदा अभावमा मानव जीवन कल्पना गर्न सकिन्न । त्यसैले देशका विभिन्न स्थानमा किसानहरुले जल, जमिन र जंगल संरक्षणमा पुरयाएको योगदानको कदर गर्नैपर्छ । त्यसमाथि किसानलाई उत्साहित र प्रोत्साहित गर्न दत्तचित्त भएर लागेको भू तथा जल संरक्षण समाजजस्ता संस्थाको सराहना गर्नैपर्छ । साथै पुरस्कृत धनुषा र धादिङका किसानले सफलतापूर्वक प्रयोगमा ल्याएको संरक्षण विधि देशभर विस्तार गर्न सके बाढीपहिरोजस्ता विपत्ति नियन्त्रण त हुने नै छ आर्थिक लाभसमेत लिने सकिने पक्का छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।


