साउदीअरबको जंगलमा १७ जना नेपाली अलपत्र

काठमाडौं, ८ साउन । काठमाडौंको मित्रनगरमा रहेको शुभम ओभरसिज इम्प्लोइमेन्ट प्रा.लि बाट साउदीअरब गएका १७ जना नेपाली त्यहाँको जंगलमा अलपत्र परेका छन् । यही साउन ४ गते शुक्रबार विहान काठमाडौंबाट साउदी उडेका १७ जना नेपालीहरुले संवादअनलाइनलाई फोन गरेरर आफूहरु अलपत्र परेको बताएका हुन् ।
१७ जना मध्येका डुकबहादुर रानाले आफूहरुलाई पठाएको कम्पनी वेटमिल लिमिटेड तीन महिना अघि नै बन्द भइसकेको त्यहाँ पुगेपछि थाहा भएको बताए । शुभम ओभरसिज इम्प्लोइमेन्टले प्रति ब्यक्ति एक लाख तीस हजार लिए पनि सो म्यानपावर कम्पनीले आफूहरुलाई फसाएको भन्दै उनीहरुले नेपाल फर्ककाइदिन आग्रह गरेका छन् ।
अर्का नेपाली बसन्तप्रसाद पौडेलले आफूहरु भएको कम्पनीको मालिक पाकिस्तानी भएको भन्दै ऊ त्यहाँबाट भागेर पाकिस्तान गइसकेको बताए । उनले भने,’हामीले यहाँ आएर सबै कुरा बुझ्दा हामी फसिएछौ भन्ने थाहा भयो । कम्पनी बन्द छ हामीले कहाँ काम गर्ने हामीलाई कस्ले तलब दिने केही थहा छैन म्यानपावरले हामीलाई लोभ देखाएर फसायो हाम्रो उद्वार गरिदिनुप¥यो घरमा परिवारहरु पनि आत्तिएका छन् ।’ उनीहरुले जतिसक्दो आफूहरुलाई नेपाल फर्काउन म्यानपावर कम्पनीलाई आग्रह गरेपनि म्यानपावरले वास्ता नर्गनुका साथै फोनै नउठाएको बताए ।
हामीहरु साउदीको जुवेल भन्ने ठाउँमा जंगलको बीचमा छौ । हामीलाई थाहा भएन उनीहरुले नक्कली काम गरेका रहेछन् । नेपालको मेडिकल टेस्ट रिर्पोटले सबै काम गर्ने भन्दै साउदीको कार्ड पनि नबनाइदिएपछि हामीहरु फसीएको थहा भयो हामीले विभिन्न ठाउँमा पनि फोन गरेर बुझ्यो हामीलाई फसाइएको रहेछ अर्का प्रेम भारतीले भने ।
उनीहरुले कम्पनी बन्द भएपछि पनि त्यहाँ रहेका कर्मचारीले पाँच महिनादेखि तलब नपाएको बताएका छन् । उनीहरुलाई पठाउने शुभम ओभरसिज इम्प्लोइमेन्ट प्रालिका सञ्चालक हिरा गुरुङलाई हामीले सम्पर्क गर्न खोज्दा उनले फोन उठाएका छैनन् । अर्का सञ्चालक श्याम गुरुङले भने एक महिनाभित्र उनीहरुलाई काममा लगाउने भनेर नै पठाएको भन्दै अहिले त्यहाँ रमजान पर्व परेको कारण कम्पनी बन्द भएको भनेर टार्न खोजे । थप जिज्ञासा राख्दै जाँद उनले सबैकुरा हिरा गुरुङलाई थहा भएको भन्दै उनैलाई सम्पर्क गर्न भनेर आफू पन्छिन खोजे ।
उनले आफूले इलिगल काम नगरेको भन्दै फर्कन चाहानेलाई नेपाल भिकाइदिने बताए तर साउदीमा अलपत्र १७ जनाले भने आफूहरुले पटक पटक फोन गर्दा पनि कुनै चासो नदिएका कारण मिडियालाई जानकारी दिएको बताएका छन् ।
उनीहरुले आफ्नो साथमा पैसा नभएकाले सबैतिर खबर गर्न नसकेको बताए। उलपत्र हुने सबै शुभम ओभरसिज इम्प्लोइमेन्ट प्रा लिबाट गएका हुन् । अलपत्र पर्नेमा अम्बिर गुरुङ, दिपक दमई, मनबहादुर तामाङ, शोमबहादुर तामाङ,बेलबहादुर तामाङ,कैलास तामाङ, डुकबहादुर राना, शुवास परियार, प्रेमलाल भारती, राजेश गुरुङ,बसन्तप्रसाद पौडेल, दिपेन्द्र राय,राजबहादुर लिम्बु, अकाश गुरुङ,सौरभ कुमार कुँवर, टोमलाल पुरी र चेत्रभुज भण्डारी रहेका छन् । उनीहरुले आफूहरुलाई भेडाबाख्रा राखेझै एकै ठाउँ थुपारेको बताएका छन् । त्यहाँ स्थित नेपाली एम्बेसीसम्म जाने भाडासम्म नभएका कारण आफूहरु जंगलमै रहेको बताएका छन् । उनीहरुले आफूहरुलाई ठग्ने सबैलाई कारबाहीको माग समेत गरेका छन् ।

