एसएलसी पूरक परीक्षा आजदेखि, एक लाख ११ हजार परीक्षार्थी

भक्तपुर, साउन २० गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको प्रवेशिका अर्थात् एसएलसी पूरक परीक्षा आजदेखि सुरु भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रल्हाद अर्यालले परीक्षा यही साउन २७ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो । गत चैत १ देखि ९ गतेसम्म सञ्चालन भएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रूपमा पूरक परीक्षा सञ्चालन गरिएको हो ।
परीक्षामा मुलुकभरबाट एक लाख ११ हजार परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर २३६ परीक्षा केन्द्र निर्धारण गरिएको तथा एक केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २५ परीक्षार्थी बराबर एक रीक्षक खटाइएको छ । यस वर्ष सबभन्दा बढी विज्ञान विषयमा ५५ हजार, गणितमा ५० हजार र अङ्ग्रेजीमा ३१ हजार विद्यार्थी अनुत्तीर्ण भएका थिए ।

