add size 720x90
Searching...

प्रबर्द्धन गरिएका वस्तुहरुकै निर्यात खस्कियो मह निर्यात ९९ प्रतिशतले घटेर ५ हजारमा सिमित

postdate: Wednesday, 24 July 2013 comment: 0 Tag:


९ साउन, काठमाडौं । नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) ले पहिचान गरि प्रबर्द्धन गरेका वस्तुहरुकै निर्यात पछिल्लो आर्थिक वर्षमा चिन्ताजनक अवस्थामा रहेको छ । एनटिआइएसले १९ वटा नेपाली निर्यातयोग्य वस्तुहरुको पहिचान गरि प्रबर्द्धन गर्दै आएको छ । नेपाल निर्यात प्रबर्द्धन केन्द्रको तथ्याङ्कअनुसार एनटिआइएसले पहिचान गरेका अधिकांश वस्तुहरुको निर्यात खस्किदै गएको छ ।

आर्थिक वर्ष २०६८/०६९ को जेठ मसान्तसम्म १८ लाख ९८ हजार रुपैयाँ बराबरको मह विदेश निर्यात भएकोमा आव २०६९/०७० को सोही अवधिमा महको निर्यात ९९ प्रतिशतले खस्किएर ५ हजारमा सिमित हुन पुगेको छ । जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा चाँदीका गरगहनाको निर्यात पनि ३९ प्रतिशतले घटेको देखिन्छ । यस अवधिमा १३ करोड ७ लाख ३५ हजार रुपैयाँका चाँदीका गरगहना निर्यात भएका छन । जबकी अघिल्लो जेठ मसान्तसम्म २१ करोड ५३ लाख ७९ हजार रुपैयाँका चाँदीका गरगहना निर्यात भएका थिए ।

निर्यातको राम्रो सम्भवना बोकेका उनीबाट उत्पादित बस्तुहरूको निर्यात पनि १६ प्रतिशतले खस्किएर ३६ करोड ११ लाख ३९ हजारमा सिमित हुन पुगेको छ । अघिल्लो जेठ मसान्तमा ४३ करोड रुपैयाँको उनीका उत्पादन निर्यात भएको थियो । तेलको निर्यात १४ प्रतिशतले घटेर ६ करोड २६ लाख ६२ हजारमा सिमित भएको छ ।

Trade-Report

चाउचाउ, पास्ता, नेपाली कागज तथा कागजजन्य वस्तु र उनी तथा पश्मिनाका सलहरुको निर्यात पनि खस्किएको तथ्याङ्कले देखाउँछ । तथ्याङ्कअनुसार चाउचाउ र पास्ताको निर्यात ७.२ प्रतिशतले घटेको छ । आव २०६८/०६९ मा ५६ करोड ६२ लाख १३ हजार रुपैयाँको चाउचाउ र पास्ता निर्यात भएकोमा आव २०६९/०७० मा जम्मा ५२ करोड ५२ लाख ५७ हजारको निर्यात भएको छ ।

नेपाली कागज तथा कागजजन्य वस्तुहरुको निर्यात ११.३ प्रतिशतले घटेर ४६ करोड ७० लाख २६ हजारमा सिमित हुन पुगेको छ । त्यस्तै, उनी तथा पश्मिनाका सलहरुको निर्यात ६.८ प्रतिशतले घटेर १ अर्ब ७३ करोड १७ लाख ९ हजारमा सिमित हुन पुगेको तथ्याङ्कले देखाउँछ ।

दाल, अलैंची, चिया, अदुवा, औषधीजन्य जडिबुटी र फलाम तथ स्टिलजन्य उत्पादनहरुको निर्यात भने यस अवधिमा बढेको छ । जेठ मसान्तसम्म अदुवाको निर्यात सबैभन्दा बढी २०८ प्रतिशतले बढेर १ अर्ब १८ करोड ६२ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ३८ करोड ५१ लाख १० हजार रुपैयाँको अदुवा निर्यात भएको थियो ।

त्यसैगरि, दालको निर्यात १९.१ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ९६ लाख ९ हजार रुपैयाँ पुगेको छ । अलैंचीको निर्यात ७.१ प्रतिशतले बढी ३ अर्ब ४४ करोड २७ लाख ५ हजार रुपैयाँ, चियाको निर्यात २८.४ प्रतिशतले बढेर १ अर्ब ७६ करोड १४ लाख ७६ हजार रुपैयाँ, औषधिजन्य जडिबुटीको निर्यात ५६.९ प्रतिशतले बढेर १ अर्ब १५ करोड ७ लाख ३३ हजार रुपैयाँ, फलाम तथा स्टिलका उत्पादनको निर्यात २.६ प्रतिशतले बढेर १० अर्ब ७२ करोड ६३ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

एनटिआइएसले पहिचान गरेका सबै वस्तुहरुको निर्यात १ अर्ब नघाउने उद्देश्य लिएको भएपनि नगन्य वस्तुहरुको निर्यातले मात्र अर्ब नाघेको छ । कतिपय वस्तुहरुको निर्यात नगन्य मात्रामा भएको नेपाल निर्यात प्रबर्द्धन केन्द्रले जनाएको छ ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन