ओखलढुंगाका ग्रामिण क्षेत्रका किसानहरु अलैँची खेतीतर्फ आकर्षीत

पूर्णप्रसाद न्यौपाने
ओखलढुंगा, साउन २४ गते ।
ओखलढुंगाका अधिकांश ग्रामिण क्षेत्रका किसानहरु अलैँची खेतीतर्फ आकर्षीत भएका छन् । केहि वर्ष पहिले सम्म जिल्लाका कुनै कुनै ठाँउमा कमै मात्र पाईने अलैँची आजभोलि व्यवसायीकरुपमै खेतीगर्न थालीएको छ ।
मौषम र हावा पानीको मात्रा मिलाउन सके अन्यबालीको तुलनामा तेब्बरले लाभ लिन सकिने भएका कारण पनि अलैँचि खेती तर्फ कृषकको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लाको कुल क्षेत्रफल मध्ये ३३ हेक्टर क्षेत्रफमा व्यवसायिकरुपमा अलैँची खेती गरिँदै आएको छ । प्रतिहेक्टर ०.८ मेक्ट्रिकटनका दरले वार्षिक १८.४ मेक्ट्रिकटन अलैँची उत्पादनहुने कृषि विकास कार्यालयका प्राविधीक सहायम लक्ष्मण दासले बताउनुभयो ।
जडीबुटीकारुपमा प्रयोग हुने अलैंची सेर्ना, नारायणस्थान, विगुटार, भुसिँगा, रावादोलु, खिजिकाती, खिजिफलाटे, खिजिचण्डेश्वरी, मुलखर्क, विलन्दु, लगाएतका गाविसका कृषकहरुले धान कोदो तथा खुर्सानी रोप्ने ठाँउमा अलैँची रोपेका छन् । अन्य बाली भन्दा सहज र उत्पादनशिल बाली भएकाले कृषकहरु केही वर्ष अघिदेखि अलैंची खेतीतर्फ आकषिर्त हुन थालेका हुन् । पछिल्लो समय जिल्लाको प्रमुख नगदेबालीकारुपमा उत्पादन हुँदै आएको अलैंची खेती तर्फ किसानहरु आकर्षित भएर लागि परेका छन् ।
परम्परागत बिधिबाट अलैंची खेती गर्दै आएका किसानहरुको नयाँ प्रविधिबाट अलैंची खेती गर्ने सीप तथा तालिमको व्यवस्था नभएको किसानहरुको गुनासो रहेको छ ।


