कास्कीमा एक वर्षमा ६ सय ४२ उद्योग थप, अघिल्लो वर्षको तुलनामा ६३ उद्योग घटे

२० साउन, पोखरा । कास्की जिल्लामा गत आर्थिक वर्ष २०६९/७० को असार मसान्तसम्म ६ सय ४२ ओटा उद्योग थपिएका छन् । यो तथ्याङक अघिल्लो आर्थिक वर्ष २०६८/६९ मा दर्ता भएका उद्योगहरुको संख्या भन्दा ६३ ओटा कम हो ।
आव २०६८/६९ मा जिल्लामा ७ सय ५ ओटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय कास्कीको तथ्यांकले देखाएको छ । अस्थिर राजनीति, कानूनी प्रक्रिया लगायतका कारणले जिल्लामा गत वर्षको भन्दा थोरै उद्योग दर्ता भएको हो ।
आर्थिक वर्ष २०६९/७० मा जिल्लामा दर्ता भएका उद्योगहरु मध्ये उत्पादनमूलक १ सय ३८, पर्यटनमूलक २ सय ३६, सेवामूलक १ सय ७६ र कृषि तथा वनजन्यमूलक ९२ रहेको उद्योग अधिकृत नन्दलाल पौडेलले जानकारी दिए । सो अवधिमा दर्ता भएका उद्योगहरुमा ८३ करोड ७६ लाख ५ हजार लगानी भएको पौडेलले बताए ।
जसमध्ये आर्थिक वर्ष २०६९/७० मा उत्पादनमूलक उद्योगमा १६ करोड ५८ लाख ९५ हजार, पर्यटनमूलक उद्योगमा ४० करोड ४० लाख ८० हजार, सेवामूलक उद्योगमा १० करोड ६३ लाख ४० हजार र कृषि तथा वनजन्य उद्योगमा १६ करोड १२ लाख ९० हजार लगानी भएको पौडेलले जानकारी दिए । सो अवधीमा दर्ता भएका उद्योगहरुबाट २ हजार ४ सय २८ जनाले रोजगारी प्राप्त गर्न सफल भएका छन् । कास्कीमा विशेष गरी पर्यटन उद्योगहरुको संख्या बढेको छ ।
यसैबीच, कास्की जिल्लामा हालसम्म ६ हजार ५ सय ३० उद्योगहरु दर्ता भएका छन् । ती उद्योगहरुमा १० अरब भन्दा बढी लगानी भइसकेको बताइएको छ । जिल्लामा सञ्चालित उद्योगहरुबाट ४३ हजार ५ सय ६९ जनाले रोजगार पाएको तथ्यांकले देखाएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा २ करोड भन्दा थोरै लगानी भएका उद्योगहरु मात्र दर्ता हुने गरेका छन् । दुई करोड भन्दा बढी लगानी भएका अन्य उद्योगहरुको संख्यासमेत जिल्लामा प्रशस्त रहेका छन् । कास्कीमा पर्यटकीय क्षेत्र पोखरा र लेखनाथमा बढी उद्योगहरु सञ्चालनमा आएका छन् ।


