हतियार सहित चार पक्राउ

कैलाली, २ साउन । हातहतियार सहित कैलाली र कंचनपुरमा गरी ४ जना पक्राउ परेका छन ।
कैलालीको टिकापुर र कंचनपुरको महेन्द्रनगर बजार सहित परासन क्षेत्रबाट ४ जनालाई हतियार सहित प्रहरीले पक्राउ गरेको हो । कैलालीको टिकापुरमा प्रहरीले पेस्तोलमा लाग्ने ५ पाँच राउण्ड गोली सहित एकजना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले कैलालीको रामशिखर झाला गाविसका सुनिल चौधरीलाई पेस्तोलको पाँच राउण्ड गोलीसहित पक्राउ गरेको हो । मंगलवार विहान ४ बजेतिर प्रहरीको गस्ती टोलीले खोजतलासका क्रममा चौधरीलाई जाँच गर्दा केएफ ७ं६५ लेखिएका गोली बरामद गरेको हो तर पेस्तोल बोकेका सुनिलका साथीहरु भने फरार भएका छन । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । यस्तै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीले एक यूवकलाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको क्राईम गस्तीले सोमवार राति सालघारी क्षेत्रबाट अमेरिकामा निर्माण भएको माउजर पेस्तोल सहित खैरभट्टाका जितु भनिने जितेन्द्र धामीलाई पक्राउ गरेको हो । धामीलाई महाकाली अञ्चल अस्पताल पछाडि सालघारीमा रहेको कालिका मन्दिर नजिकबाट पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक विर्षबहादुर रावलले जानकारी दिए । प्रहरीले पक्राउ परेका धामीबाट से ३ प २६०७ नम्बरको बजाज पल्सर मोटरसाईकल पनि बरामद गरेको छ । पक्राउ परेका धामी विरुद्ध हातहतियार तथा खरखजाना ऐनअन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने परासनमा दुईजना हतियार सहित पक्राउ परेका छन् । सिमा सुरक्षा पोष्ट बेलौरीबाट गएको गस्ती टोलीले मंगलवार बिहान ३ वजे परासन गाविस २ ‘क’ गाउँमा भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको हो । नियमित गस्तीका क्रममा सशस्त्र प्रहरीको टोलीले परासन गाविस ‘क’ गाँउका २० वर्षीय मुन्ना राना र ३० वर्षीय फुलचन रानालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको सुरक्षा पोष्ट बेलौरीका प्रहरी नायव उपरीक्षक फणेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीले हतियारधारी समुहबाट बन्दुकमा प्रयोग हुने बारुद, से १ प ४१६५ नम्बरको मोटरसाइल र एक थान मोवाईल फोनपनि बरामद गरेको छ । गस्ती टोलीसँग अचानक भेट भएपछि अत्तालिएको बन्दुकधारी समुहले सशस्त्र प्रहरी माथि आक्रमणको प्रयास समेत गरेको थियो । बन्दुकधारी समुहको आक्रमणबाट सशस्त्र प्रहरी नायव निरीक्षक खगेन्द्र भट्ट सामान्य घाइते भएका छन् । उनको पिठ्युमा उक्त समुहले बन्दुकको कुन्दा प्रहार गरेको बताइएको छ । पक्राउ परेका दुवै जनालाई सशस्त्र प्रहरीले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको जिम्मा लगाएको छ ।

