जाजरकोटका २७ गाविस सञ्चारसेवाबाट वञ्चित

९ साउन, जाजरकोट । जाजरकोटका ग्रामीण क्षेत्रका बासिन्दा एक हप्तादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन् ।
जिल्लाका पाँच ठाउँमा रहेका स्काई टेलिफोन टावरमा खराबी आएपछि स्थानीय बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका हुन् । जिल्लाका मछाइना, पैक, घेत्मा, दशेरा र खलङ्गाका टावर बिग्रिएका छन् ।
यी टावर सुचारु गर्नका लागि रोल्पामा रहेको रिपिटर टावर नै मर्मत गर्नुपर्ने भएकाले अझै एकहप्ता लाग्ने टेलिकम जाजरकोट शाखाले जनाएको छ ।
सदरमुकामबाहेक ग्रामीण क्षेत्रमा अहिले टेलिफोन सेवा बन्द रहेको छ । एक हप्ताअघिदेखि टेलिफोन अवरुद्ध भए पनि टावर मर्मततर्फ कसैको ध्यान नगएको पञ्चभयार माध्यमिक विद्यालय खगेनकोटका शिक्षक वीरबहादुर केसीले बताउनुभयो । टेलिफोन सेवा अवरुद्ध भएसँगै यस क्षेत्रका स्थानीयवासी फोन गर्नका लागि सदरमुकाम आउन थालेका छन् ।
जाजरकोटका ३० गाविसमध्ये अहिले २७ गाविस टेलिफोन सेवाबाट वञ्चित भएका छन् । एक हप्तासम्म टेलिफोन सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले खबर आदानप्रदानका लागि हुलाक कार्यालयमा गएर चिठी पठाउन थालेका छन् । रासस

