add size 720x90
Searching...

आज गुरुपूर्णिमा

postdate: Sunday, 21 July 2013 comment: 0 Tag:


काठमाडौ, ७ साउन । विद्यार्थीहरुले आफूलाई विद्या दान गर्ने गुरुहरुलाई पुजा सम्मान गरी आज मुलुकभर आचार्यदिवसका रुपमा गुरुपूर्णिमा पर्व मनाइँदैछ । हिन्दु संस्कृतिमा अज्ञानतारुपी अन्धकार प्रकाशतर्फ डोरयाउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र परब्रह्म् भनी उच्च सम्मान गरिदै आइएको छ ।
। हिन्दू धर्मावलम्बीले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई आज गुरुपूर्णिमाका रूपमा मनाउँदैछन् ।
द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूर्णिमाका दिनमा मनाउने परम्परा बसेको हो । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई प्रथम सर्वश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ ।
आज गुरुका रुपमा ज्ञानको पूजा गरिन्छ । अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी आफ्ना शिष्यलाई उज्यालोतर्फ लानुहुने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट आशीर्वाद थाप्ने चलन छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने हो । आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञान हटाउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ । हिन्दू मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षामन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन् ।
विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचार्य पालन गरेर गुरुकुलमा गई पढ्ने चलन थियो । त्रेतायुगमा रामसहित उनका भाइ र द्वापरयुगमा भगवान् कृष्णले पनि गुरुकुलमै अध्ययन गरेका शास्त्रमा उल्लेख छ । गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने गरिआएका छन् ।





सम्बन्धित

comment

- news नेपाल ब्लग ा visit गर्नु भएको मा धन्यावाद -
यस ब्लग मा पोस्ट हुने सम्पूर्ण समाचार तथा मनोरन्जनात्मक सामग्री अन्य नेपाली site बाट लीइएका हुने छन