मोजमस्तीको एटीएम

अहिलेका नयाँ पुस्तामा प्रेम गर्नु युवा युवतीका लागि फेसन भएको छ । तन्नेरी पुस्ताका युवा युवती एकै समयमा २/३ जनासँग समेत प्रेम गर्छन् ।
यस्तै, एकै समयमा दुई वा त्यो भन्दा बढीसँग माया प्रेम गर्दा त्यसले निम्त्याउने समस्या समेटेर बनाइएको चलचित्र हो, एटीएम ।
अश्लील भयो भनेर ६ महिनाअघि बन्देज गरिएको चलचित्र एटीएमले गत महिना पुनरावेदन अदालत ललितपुरबाट मुद्दा जितेपछि शुक्रबारबाट रिलिज हुने अवसर पाएको छ ।
यो सिनेमा राजधानी र मोफसल गरेर एकसाथ करिब ४२ सिनेमा हलबाट रिलिज हुन लागेको यसका निर्माता दिनेश थापाले बताएका छन् ।
एटीएमको सेन्सरले सुरुमा जति दृश्य काटेको थियो, त्यो बाहेक अरू दृश्य नकाटी प्रदर्शन गर्न अदालतले स्टे अर्डर जारी गरेकाले सो स्टे अर्डरअनुसार आफूहरूले एटीएम रिलिज गर्न लागेको पनि निर्माता थापाले जनाए ।
यो फिल्म ६ महिनाअघि रिलिज हुँदा अश्लील भयो भन्दै सेन्सर बोर्डले पहिलो रिलिजको पहिलो दिन नै बन्देज गरेको थियो । त्यसपछि आफूहरू अदालत गएको थापाले बताए ।
यो सिनेमा हामीले किशोरावस्थाको अन्धोप्रेम र त्यसले निम्त्याएको दुर्घटना देखाएका छौं ।’ यादव सिलवालले निर्देशन गरेको यो चलचित्रमा दिनेश थापा, सविना कार्की, जिया केसी, सोनिया शर्मा र खुस्बु खड्काको अभिनय छ ।


