पातली बन्दै अरुणिमा लम्साल

काठमाडौं । नायिका अरुणिमा लम्सालले आफुलाई पातली बनाएकी छिन् । नयाँ पुस्ताका नायिकाहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने भएपछि आफुले तौल घटाएर शरीरलाई छरितो बनाएको उनले बताएकी छिन् ।
नियमित एरोबिक, व्यायाम र सन्तुलित खानाका कारण आफ्नो तौल घटाएर छरितो बनेको यी अभिनेत्रीले खुलासा गरेकी छिन् । दुई वर्ष अघि आमा बनेकी लम्साल सुत्केरी भएको एक वर्षसम्म निकै मोटी थिईन् । छोरी एक वर्ष नाघेपछि उनले तौल घटाउन सुरु गरेकी हुन् । गत फागुनबाट उनी पुनः चलचित्रमा फर्किएकी थिईन् । उनले त्यतीबेला चलचित्र उर्वशीमा अतिथि अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिईन् ।
गत जेठमा उनले अर्को चलचित्र ‘पिपल’मा नायिकाको भूमिका निर्वाह गरेकी छिन् । सो चलचित्रमा शुष्मा अधिकारी र अरुणिमा मुख्य अभिनेत्रीको रूपमा छन् ।
आफु करिब दुई वर्ष चलचित्रबाट बाहिर रहँदा थुप्रै नवोदित निर्देशक र नयाँ नायिका नेपाली सिनेबृत्तमा भित्रिएको यी अभिनेत्रीको कथन छ । सोही कारण नयाँ पुस्ताका नायिकासँग आफुलाई प्रतिस्पर्धी रुपमा उतार्न आफ्नो तौल घटाएर छरितो तुल्याएको उनले जानकारी गराएकी छिन् । आफु चलचित्रको लागि ‘फिट’ भएको पनि अभिनेत्री लम्सालले चलचित्र निर्देशकहरुलाई जानकारी गराउन चाहेकी छिन् ।



