ओढारमा भेटियो हतियार

८ साउन, सल्यान । सल्यानको जिमाली–९ कुमाख नजिकै जङ्गलको ओडारमा छ थान हतियार र २६ राउन्ड गोली फेला परेको छ । ओडारमा लुकाई राखेको अवस्थामा ती हतियार आज फेला परेको हो ।
फेला परेका हतियारहरूमा थ्री नट थ्री राइफल दुई थान, सटगन दुई थान र भरुवा बन्दुक दुई थान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हतियारसहित थ्री नट थ्री राइफलका सात राउन्ड, एसएलआरको पाँच राउन्ड र १४ राउन्ड ठूलो हतियारको गोली फेला परेको प्रहरी नायब उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।
भेटिएको हतियारमध्ये एउटा खिया लागेर काम नगर्ने र अन्य सबै काम गर्ने अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक आचार्यले बताए ।
जङ्गलमा गाई चराउन गएका स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि ओढारमा लुकाई राखेको अवस्थामा हतियार फेला परेको थियो


