नर्सरीको कमाईले १२ जनाको जिउ पाल्छन् बेल्बासे वार्षिक आम्दानी तीन लाख

२ साउन, दाङ । दाङको घोराही नगरपालिका-५ अम्बापुर सालघारीका चुडामणि बेल्वासेलाई हिजोआज विरुवा बेच्न भ्याइनभ्याई छ । विगत ९ बर्षदेखि आफ्नै घरको ६ कठ्ठा जमिनमा नर्सरी विरुवा उत्पादन गरी बजारमा बिक्री गदै आएका वेल्वासेको त्यही नर्सरी नै १२ जना परिवारको आयस्रोत बन्न पुगेको छ । आफूसँगै भाई नारायण वेल्वासेको स्थायी पेसाजस्तो बन्न पुगेको नर्सरी विरुवा उत्पादन गरी बेचेको आम्दानी वर्षमा तीन लाखसम्म हुने गरेको चुडामणि बताउँछन् ।
आजभोलि हरेक दिनजसो छिट्वामा विरुवा राखी तुलसीपुर चोकमा बेच्न बसेका चुडामणिले यो बर्षा याममा मात्रै दुई लाख पचास हजार विरुवा बिक्री गर्ने लक्ष्य लिएका छन् । विभिन्न प्रजातिका विरुवा उत्पादन गरेर बजारमा बिक्री गर्दै आइरहेका वेल्वासेले ति विरुवाका बीऊविजनहरु काठमाण्डौ र भारतको लखनऊ पुगेर ल्याउने गर्छन् । शुरुमा कृषि विकास बैंकबाट २० हजार ऋृण लिएर नर्सरी विरुवा उत्पादन शुरु गरेका वेल्वासेले अहिले नगरपालिका र घरेलुमा आफ्नो नर्सरी र्फमसमेत दर्ता गराइसकेका छन् ।
सुरुमा ८/१० हजार विरुवा उत्पादन गर्ने वेल्वासेले अहिले बर्षमा ५ लाख विरुवा उत्पादन गर्ने गरेको बताउँछन् । वेल्वासे नर्सरी भनेर चिनिने चुडामणिले आफ्नो नर्सरीमा कागती, अनार, बेलौती, श्रीखण्ड, अमला, वेद, अशोक, धुपीसल्ला, रुदाक्ष, रानी कुरिलो आदि विभिन्न थरीका विरुवा उत्पादन गर्दै आइरहेका छन् । घरमा धेरै समय नर्सरीमै काम गरेर बिताउने वेल्वासे दाजुभाईले बाह्रैमास विरुवा उत्पादन गर्ने गर्छन् । मेहेनत गरे जति आम्दानी पनि सन्तोषजनकले नै भइरहेको वताउने चुडामणि वेल्वासेले बर्षको धेरैसमय विरुवाका विऊ,विजन खोज्नमै लाग्ने गरेको बताउँछन् ।
उनी भनछन्- ‘बाह्रै महिना विरुवा उत्पादन गरिरहनुपर्ने भएकाले बीउ पनि बाह्रै मास खोज्न काठमाण्डौं र लखनऊ गइराख्नुपर्छ ।’ वेल्वासे नर्सरीमा उत्पादित विरुवा जिल्लामा खपत हुनुका साथै माग अनुसार बाहिरसम्म जाने गरेको बताउँछन् । धेरै बर्ष जिल्ला वन कार्यालयको वनस्पति विभागअन्तर्गत जडिबुटी नर्सरीमा काम गरेर विताएका चुडामणि वेल्वासेले अहिले आफ्नो नर्सरीको काम गर्दा जिल्ला वन कार्यालयको प्राविधिक सहयोग लिने गर्छन् । नर्सरीबाट चित्तबुझ्दो आम्दानी भइरहेकाले चुडामणि अझ यसको वृद्धि, विस्तार गर्ने योजनामा रहेका छन् ।


