माओवादी विस्तारित बैठक आजबाट सुरु हुने

काठमाडौ, ४ साउन । एकीकृत नेकपा माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक आज बस्दैछ ।
विस्तारित बैठक बस्नुअघि पदाधिकारी, पूर्व स्थायी समिति सदस्य, व्युरो तथा राज्य समिति इन्चार्जहरुको संयुक्त बैठक बस्दैछ । पार्टी पदाधिकारीको कार्यविभाजनमा विवाद भएपछि समस्या समाधानका लागि बैठक बस्न लागको हो ।
पदाधिकारी नियुक्तिमा विवाद भएपछि उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले पद त्यागको घोषणा गरेपछि माओवादीले केन्द्रिय समिति बैठक स्थगित गरेर विस्तारित बैठक बोलाएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याउनु भएको विवाद समाधानका विभिन्न विकल्पमा छलफल हुनेछ । प्रचण्डले अध्यक्षबाहेक अन्य सबै केन्द्रिय सदस्य रहने, महाधिवेशनबाट चयन भएका केन्द्रिय समिति यथावत राख्ने तथा बाबुराम भट्टराईलाई वरिष्ठ नेता बनाउने लगायतका विकल्पमा विभिन्न चरण छलफल भएको भएपनि निष्कर्ष निस्कन सकेको छैन । विस्तारित बैठकले सबै समस्या हल गर्ने माओवादीले बताएको छ ।


