कलंकी–कोटेश्वर विस्तार आगामी १५ असोजदेखि

१२ साउन, काठमाडौ । कलंकी कोटेश्वर चक्रपथ विस्तार कार्य आगामी १५ असोज देखि थालिने भएको छ । ‘वर्षायाममा काम गर्न अप्ठ्यारो पारेको’ भन्दै सडक विस्तार कार्य चार महिना पर सारिएको हो ।
‘कलंकी–कोटेश्वर चक्रपथ विस्तार कार्य आगामी १५ असोजदेखि हुनेछ,’ चक्रपथ विस्तार आयोजना प्रमुख अशोक तिवारीले भने, ‘यसका लागि हामी तयारी चरणमै छौं ।’ सो सडक चीन सरकारको आर्थिक सहयोगबाट बन्न लागेको हो ।
दुई वर्षअघि तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेपाल भ्रमण आएका बेला सडक निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए भने खबर राजधानी दैनिकले छापेको छ । जसमा चीनले ४ करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने भएको छ । कलंकीदेखि कोटेश्वरसम्म पर्ने ९ दशमलव ५ किलोमिटर चक्रपथ दुवैतिर गरी ८ लेन बनाइनेछ । सडक दुवैतर्फ साइकल ट्र्याक र फुटपाथ बनाइनेछ ।


