भारतमा ६ जना बलात्कारीलाई जन्मकैद

दिल्ली, ६ साउन । भारतको मध्यप्रदेश स्थित दतिया जिल्लामा एक स्वीस महिलामाथि सामुहिक बलात्कारमा संलग्न ६ जनाई जन्मकैदको फैसला सुनाईएको छ ।
६ मध्ये चार जनालाई सामुहिक बलात्कार र दुई जनालाई डकैति र महिलामाथि अत्याचार गरेकोमा दोषी ठहर गरिएको छ । दतिया जिल्लाका विशेष न्यायाधीश जितेन्द्र शर्माले ६ जना परेको मुद्धामा फैसला सुनाउनुभएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दोषी ठहरीएकाहरुबाट दश दश हजार बिगो भराईएको छ । यो उठाईएको पैसा पीडित महिलालाई दिईने छ । ती ३९ वर्षीया स्वीस महिलामाथि दतिया जिल्लामा गत मार्च १५ मा सामुहिक बलात्कार भएको थियो । साईकलमा सवार उनलाई आधादर्जन युवाले जंगलमा लगेर सामुहिक बलात्कार गरेका थिए ।
भारतमा एक बर्ष यता बलात्कारका मुद्धामा न्यायाधीशहरुले कडा सजाय सुनाउन थालेका छन् । गतबर्ष डिसेम्बरमा भारतको राजधानी नयाँदिल्लीमा एक युवतीमाथि सामुहिक बलात्कार र हत्या भएपछि भारतमा बालात्कारी विरुद्ध शसक्त आवाज उठ्न थालेको छ ।


