पत्रकार कुट्ने कर्मचारी प्रहरी खोरमा

४ साउन, इलाम । पत्रिकाको बिल भुक्तानी लिन गएका पत्रकारलाई जिल्ला विकास समिति इलामका एक कर्मचारीले बिहीबार दिउँसो जिविसमै कुटपिट गरेका छन् ।
इलाम एक्सप्रेस दैनिक पत्रिकाको भुक्तानी लिन जिविस लेखाशाखा पुग्नुभएका पत्रकार सोमनाथ सुसेलीलाई जिविसका खरिदार महेन्द्र चौहानले कुटपिट गरेका हुन् ।
चौहानलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ । आफूमाथि जिविसमै भएको आक्रमण निन्दनीय भएको भन्दै सुसेलीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको छ ।
सुसेलीमाथि किन कुटपिट भएको हो भन्नेबारे केही थाहा नभएको प्रहरीले बताएको छ । कुटपिटबाट पत्रकार सुसेलीको अनुहारमा केही चोट लागेको छ भने उहाँको चश्मासमेत फुटेको छ ।
पत्रकार कुटपिटप्रति नेपाल पत्रकार महासङ्घ इलाम शाखाले आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।

