बर्दियामा ब्राउन सुगरसहित एक पक्राउ

कमल बि.सी.
गुलरिया , साउन १९ गते
बर्दियामा प्रतिबन्धित लागु औषध सहित एकजना पक्राउ परेका छन् । १५ ग्राम ब्राउन सुगर, ३० ग्राम चरेश र २ पत्ता एलप्रामेड ट्याब्लेट सहित गुलरिया–११, भन्सार रोडका २७ बर्षिय अब्दुल मल्लिक दर्जी पक्राउ परेका हुन् । उनलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । गोप्य सूचनाका आधारमा गुलरियाको भन्सारोडस्थित रहेको विशाल टेलर्समा छापा मारी प्रहरीले उक्त परिमाण बराबरको प्रतिबन्धित लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेद प्रकाश जोशीले जानकारी दिनुभयो ।
पक्राउ परेका दर्जी लागु औषध ओसार पसार तथा बेचविखनमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ । त्यसबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । गुलरियामा लागु औषधको ओसारपसार, बेचविखन तथा सेवन गर्ने गिरोह रहेको पाईकाले आवश्यक निगरानी बढाईएको बर्दिया प्रहरीले जनाएको छ । पछिल्लो समयमा लागु औषध प्रयोगकर्ता बढेकाले यसको ओसारपसार र ब्यापार पनि बढेको छ ।
सीमासंग जोडिएका तराईका केही जिल्लाहरुमा ब्राउन सुगर, चरेश, अफिम जस्ता लागु औषधको कारोबार खुलेआम भैरहेको छ । यसप्रति प्रहरी प्रशासनले अभियानकै रुपमा निगरानी बढाउन जरुरी रहेको छ । लागु औषध ओसार पसार र बेचविखन गर्नेलाई परिमाण अनुसारको सजाय र जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । लागु औषध ओसारपसार तथा बेचविखन गर्नेलाई बढीमा ५ बर्षदेख १० बर्षसम्म कैद र २५ हजारदेखी ५० हजारसम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ । तर राजनीतिक संरक्षणका कारण लागु औषध कारोबारीहरु खुलेआम कारोबार गरिरहेका छन् ।


